Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी


767
Shares

सर्लाही ।

रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक आज बिहान करिब सवा सात बजे बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट तिहार मनाउन यात्रु लिएर चन्द्रपुरतर्फ आइरहेको बसको ब्याट्रीको तार सर्ट भई आगो लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको नेतृत्वमा प्रहरी टोली, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको कार्कीले बताए ।
आगलागीका कारण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

यद्यपि, यात्रुहरूले समयमै भागेर ज्यान जोगाएका कारण कुनै मानवीय क्षति हुन सकेको छैन । घटनाका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।