Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


नेताहरुको सन्देशः नेपालीहरुबीच एकता र भाईचाराको प्रेरणा


0
Shares

काठमाडाैं ।

मुलुकका शिर्ष नेताहरुले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता कायम गर्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ ।

उहाँहरुले समाजमा उज्यालो, सुशासन र समृद्धिको मार्ग प्रशस्त हुने आशा व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने पर्व भएको बताउनुभएको छ । यसले सबै जातजाति, भाषाभाषी र संस्कृतिलाई समेटेर साझा राष्ट्रिय भावना सुदृढ गर्ने उहाँको भनाई छ । राष्ट्रपति पौडेलले सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको तिहार पर्व उज्यालो र प्रकाशको पर्व पनि भएको उल्लेख गर्नुभएको छ ।

‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । हामीले मनाउने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरूमध्ये तिहार हिन्दुको महान पर्वको रूपमा रहेको छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ’, राष्ट्रपतिद्धारा जारी सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत ११४६ र छठ पर्वका अवसरमा शुभकामना दिँदै सबै नेपालीलाई शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय एकता र दृढ संकल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीको मौलिक संस्कृति भएको उल्लेख गर्नुहुँदै सबै मिलेर अन्धकारको अन्त्य गर्दै उज्यालो नेपालको निर्माण गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले तिहार पर्वले नेपाली समाजमा सांस्कृतिक तथा भावनात्मक एकता सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रले विविध जाति, धर्म र समुदायका सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको उल्लेख गर्नुभएको छ ।

यस्ता पर्वहरूले साङ्गठानिक र सामाजिक रूपमा अझ नजिक ल्याएको उहाँको भनाई छ । अध्यक्ष दाहालले तिहार पर्वमा पशुपंक्षी र प्रकृति पूजनमार्फत मानव समाज र प्रकृतिबीचको सहअस्तित्व झल्किने उल्लेख गर्नुहुँदै देउसी भैलो जस्ता सांस्कृतिक गतिविधिहरुले नेपाली संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ ।
तिहार पर्वले नेपाली मौलिकता, सांस्कृतिक समृद्धि र सामाजिक एकताको महत्व उजागर गर्दै नेपाली समाजमा आशा, उज्यालो र सहिष्णुताको सन्देश फैलाउने विश्वास लिइएको छ ।