
काठमाडौं ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ ।
आईतवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिनुभएको हो ।
उहाँकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रश्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समिक्षा भएको छ । उहाँले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताउनुभयो । उहाँले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरुलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धीत रणनीतिक योजनाहरु प्रश्तुत गर्न एउटा कार्यदल बनाएका थियौं । आजको बैठकमा उसले गरेको कामको समिक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरुप हामीले आफू मातहतको निकायहरुलाई परिचालित गर्नुपर्ने हुन्छ ।
कार्यदलले दिएका रणनीतिक योजनाहरु हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौं । प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौं । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता ल्याउनको लागि विषेश कार्यक्रम चलाउँछौं ।
आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि पनि थप कार्यक्रमहरु ल्याउँछौं । निर्वाचनको वातावरण बनाउनको लागि शान्ती सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरुको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरु पनि साथसाथै अगाडि बढाउँछौं ।’
उहाँले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरुले समाजमा रहेका अपराधीहरुलाई दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्