Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


वर्षोंदेखि अलपत्र पारिएका थप २५ रूग्ण ठेक्का तोड्ने प्रक्रिया शुरू (सूचनासहित)


520
Shares

काठमाडौं। सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरु भएको छ।

सडक विभाग अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् । यसअघि गत शुक्रबार १७ र शनिवार एक वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौंले ७, ओखलढुङ्गा तथा अछाम डिभिजनले ५-५, पाल्पाले ४, धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक-एक गरी २५ वटा ठेक्का किन नतोड्ने भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिनुभएकाे थिएयाे। सडक अन्तर्गत २ सय ५८ ठेक्का रुग्ण छन् ।

ठेक्का तथा योजनाको पटक-पटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत रूपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन गरिएको जनाइएको छ ।