Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, रु १० अर्ब लाग्ने


351
Shares

काठमाडौँ । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तरराष्ट्रिय क्रिकेट मैदान भएको र अन्तरराष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमासमेत यसको योगदान हुने उल्लेख गर्नुभयो ।

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रुप दिने र गुरुयोजनाबमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि ‘टेण्डर प्रक्रिया’ अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।

केही दिनअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएका मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिनेगरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउनुभएको थियो ।

हाल रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग ९एनपिएल० भन्दाअगावै रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी काम धमाधम भइरहेको छ ।