Logo ७ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025


कारागारबाट भगेका तीन कैदीबन्दी प्रहरी नियन्त्रणमा


364
Shares

काठमाडौं ।
लागुऔषध, चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका तीन जना प्रतिवादी र कैदीलाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ।

काठमाडौं, ललितपुर र चन्द्रागिरिबाट पक्राउ परेका ती फरार अभियुक्तहरूलाई अदालतको आदेश र कारागार प्रशासनको समन्वयमा प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी बृत्त थानकोटका अनुसार मिति २०८२ असोज ३० गते बिहान ११: २० बजे लागुऔषध मुद्दामा अदालतले फैसला गरिसकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका–१० सतुङगलका २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरिएको हो।

सम्मानित जिल्ला अदालत काठमाडौंको फरार प्रतिवादी खोजतलास अभियान अन्तर्गत पक्राउ परेका प्रधानलाई आवश्यक कानुनी कारबाहीका लागि हाल प्रहरी बृत्त थानकोटमा राखिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका–२ होप भ्यालीबाट चोरी मुद्दामा सजाय भोगिरहेका र मिति २०८२ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका ३२ वर्षीय अम्बरबहादुर सारुमगरलाई प्रहरी प्रभाग इमाडोलले नियन्त्रणमा लिएको छ। प्रहरीको क्युआरटी र सिभिल टोलीको संयुक्त अपरेसनबाट पक्राउ परेका सारुमगरलाई कारागार प्रशासनको समन्वयमा पुनः हिरासतमा राखिएको बताइएको छ।

यसैबीच, कारागारबाट भागेका अर्को फरार कैदी पनि प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। मिति २०८२ असोज ३० गते दिउँसो १२:३५ बजे काठमाडौं महानगरपालिका–२६ रानीवारीस्थित दक्षिणकाली मन्दिर नजिकबाट सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षीय विशाल महर्जनलाई पक्राउ गरिएको हो। उनी काठमाडौं–२६ सामाखुसी निवासी हुन्।

महर्जनलाई लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक विचित्र थापामगरको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर प्रहरी बृत्त लैनचौरमा राखेको थियो।

त्यसपछि दिउँसो २ बजे प्रहरी निरीक्षक चन्द्रमाया श्रेष्ठको कमाण्डमा खटिएको चार जनाको टोलीमार्फत उनलाई पुनः केन्द्रीय कारागार जगन्नाथ देवल, सुन्धारा पठाइएको ब्युरोले जनाएको छ।

तीन फरार अभियुक्तलाई पक्राउ गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई सम्बन्धित मुद्दा अनुसार अदालत र कारागार प्रशासनसँग समन्वय गरी कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ।