Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


अर्थमन्त्री खनाल र एसियाली विकास बैकका अध्यक्षबीच भेटवार्ता


221
Shares

काठमाडाैं ।

विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएकाे छ ।

अध्यक्ष कान्दाले नेपालमा भएको राजनीतिक परिवर्तन र सुशासन कायम गर्ने विषयमा छलफल गर्नुभएकाे थियाे । अर्थमन्त्री खनालले आजै विश्व बैक र अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वि एशियाली समुहको गभर्नरहरुको बैठकमा बोल्नुहुँदै नेपालमा जलविद्युत उत्पादन र सूचना प्रविधि पूर्वाधार विकासमा लगानी गर्न आग्रह गर्नुभयो।

विकास आयोजनाको कार्यान्वयनमा ढिलाई भएको चर्चा गर्दै मन्त्री खनालले विश्व बैंकलाई आयोजना कार्यान्वयनका मापदण्ड र निर्देशिकालाई थप सरल बनाउन सुझाव दिनुभयो।

मन्त्री खनालले वित्तीय क्षेत्रको स्थायित्वका लागि तयार गरिने विश्वव्यापी मापदण्ड बनाउन आवश्यक भएपनि कार्यान्वयनका क्रममा कुनै देश विशेषको स्थानीय आवश्यकता र परिवेशलाई पनि उत्तिकै ध्यान दिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गर्नुभयो।

साथै एसियाली विकास बैंकको लगानीमा हाल निर्माण भएका ठूला पूर्वाधार आयोजना बारे बताउँदै अध्यक्ष कान्दालाई नेपाल भ्रमणको लागि निमन्त्रणा गर्नुभयो। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको समेत उपस्थिति थियो।