Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


काठमाडौंमा डिजिटल ठेगाना प्रणाली सुरु


0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका भित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गर्नुभयो ।

वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१÷८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडाध्यक्ष तिवारीले ४५ लाख रुपैयाँको लागतमा खरिद गरि डिजिटल हाउस नम्बरिङको शुरुवात गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए । त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनका लागि चिप्स प्रविधिमा आधारित प्रणालीको शुरुवात गरेको उहाँको भनाइ छ ।

यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पु¥याउने विश्वास गरिएको छ । ६ हजार ८ सय ५० घर संख्या रहेको २६ नम्बर वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ ।

एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसी ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ ।

यसमा राखिएको आइडी नम्बर कतै नदोहोरिने जनाइएको छ । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिने समेत दाबी गरिएको छ ।