Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


एक सातासम्म यसरी मनाइन्छ इन्द्रजात्रा पर्व (भिडियो)


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असोज ५ । काठमाडौंको प्रमुख पर्वमध्येको एक इन्द्रजात्रा शुक्रबारदेखि सुरु भएको छ ।

भाद्र शुक्ल द्वादशीको दिन इन्द्रध्वजारोहण गरी सुरु हुने यो पर्व एक सातासम्म चल्ने गर्दछ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइने यो जात्राको पहिलो दिन भक्तपुरको नालास्थित चित्तपोलको जंगलबाट ल्याइएको सल्लाको लिंगोको विधिवत् पूजा गरी इन्द्रध्वजारोहण गर्ने गरिन्छ ।

हनुमानढोकास्थित कालभैरवको मूर्तिअगाडि इन्द्रध्वजारोहण गर्ने चलन रहेको छ ।

इन्द्रध्वजारोहणमा मंगल सूचकका विभिन्न चिह्नअंकित पताका झुन्ड्याएको हुन्छ भने फेदमा ऐरावत हात्तीमाथि इन्द्र भगवान चढेको सुनको मूर्ति राख्ने गरिन्छ ।

इन्द्रध्वजारोहणको परम्परा राजा प्रतापसिंह शाहले चलाएको बताइन्छ ।

साथै, यही दिनदेखि श्वेतभैरवको मूर्ति सर्वसाधारणको दर्शनका लागि पनि लागि खुला गरिन्छ ।

द्वादशीकै दिन उपाकु पर्वअन्तर्गत् पितृमोक्षको कामना गर्दै दिवंगत व्यक्तिका परिवारजन बाटोमा दियो दान गर्दै तत्कालीन कान्तिपुर नगरको सीमारेखा परिक्रमा गर्ने गर्दछन् ।

इन्द्रजात्राभर काठमाडौंको मरुटोलमा अग्लो डबली बनाइ इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ ।

आमाको ब्रतका लागि पारिजातको फूल लिन पृथ्वीलोकमा आएका देवराज इन्द्रले मालीलाई नसोधी फूल टिपेको आरोपमा उनलाई डोरीले बाँधेर सबैलाई देखाइएको संकेतकारुपमा यसरी मूर्ति राख्ने गरिएको किम्बदन्ती रहेको छ ।

यस अवधिभर इन्द्रचोकमा आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा राखी प्रदर्शन गरिन्छ ।

पूर्णिमाको दिन भने बसन्तपुर दरबारस्थित गद्दी बैठकअगाडि जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी विशेष पूजा गरिन्छ ।

सो दिन राष्ट्रप्रमुखलेसमेत रथयात्रा अवलोकन गर्ने र कुमारी, भैरव र गणेशको पूजा गर्ने चलन रहेको छ ।

सोही दिनदेखि नेवार समुदायले कुमारी, भैरव र गणेशको रथ तानेर नगर परिक्रमा गराउनेक्रम सुरु हुन्छ । पूर्णिमाको दिन सुरु हुने रथ तान्ने जात्रा दोस्रो र तेस्रो दिन पनि जारी रहन्छ ।

त्यसक्रममा रथजात्रा हुने स्थानहरुमा विभिन्न देवी–देवताको नृत्य प्रस्तुत् गर्ने गरिन्छ । इन्द्रजात्राको अन्तिम दिनलाई ‘नानीचाया’ भन्ने गरिन्छ ।

उक्त दिन इन्द्रध्वजा ढालेर वाग्मती नदीमा बिसर्जन गरेपछि जात्रा औपचारिकरुपमा समापन हुने गर्दछ ।

इन्द्रजात्रा काठमाडौंको विशेष पर्व भएपनि ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका नेवार बस्तीहरुमा पनि यो पर्व मनाउने गरिन्छ ।

भिडियो हेर्नुहोस्