
काठमाडाैं । गत भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले काम अघि बढाइरहेको छ ।
२३ गतेको दमनले उत्पन्न गरेको आक्रोशले २४ गतेको विध्वंश गराएको हो त ? भन्ने विषयमा पनि आयोगले जवाफ दिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले पनि २४ गतेको घटनालाई शंकास्पद भन्दै रिपोर्टहरु सार्वजनिक गरिरहेकाले आयोगलाई तथ्यमा रहेर अनुसन्धान गर्न दबाब बढेको छ।
भदौ २३ गते एकै दिनमा २१ जनाको ज्यान गरी भएको सरकारी दमनमा भूमिका अनुसार संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरिय जाँचबुझ आयोगले सिफारिस गर्ने कुरा अपेक्षित नै छ । तर त्यो भन्दा भदौ २४ गते जुन तहको आक्रमणहरु भएका थिए । के ती २३ गतेको दमनको आक्रोष मात्रै थियो त ? कि त्यसमा योजनावद्ध षड्यन्त्र थियो भन्ने निकै चासो पनि उत्तिकै छ ।
सरकारले संकलन गरिरहेको तथ्यांक अनुसार सिंहदरबार र सर्वोच्च अदालतसहित देशैभर ६ सय भन्दा बढी भवनहरुमा आगो लगाइएको छ। त्यो पनि एकै समयमा । यसै हप्ता अमेरिकी संचारमाध्यम न्यूयोर्क टाइमसले सार्वजनिक गरेको समाचार रिपोर्टले सरकारी संरचनाहरुमा लगाइएको आगो शंकास्पद भनेको छ । विषेश गरेर ठुला भवनहरुमा करिब २ घण्टाभित्र आगो लगाइनु सम्भव नहुने भन्दै रिपोर्टमा सिंहदरबार लगायतका महत्वपूर्ण संरचनाहरुमा अघिल्लो दिन नै उच्च प्रज्वलनशील केमिकल राखेर योजनावद्ध आगजनी गरिएको हुन सक्ने भन्दै शंका थपिदिएको छ ।
यता, नेपाली सुरक्षा निकायले गरिरहेको आन्तरिक अनुसन्धान पनि त्यसैमा केन्द्रित छ । यतिसम्म कि भित्रका कोठाहरुमा समेत छानीछानी आगो लगाइएका तथ्यहरु संकलन भइरहेका छन् । सर्वोच्च अदालत र संसद भवनमा त तालिम प्राप्त शैलीमा बाेतलबाट प्रज्वलनशील पदार्थ प्रहार गरिएको दृष्यहरुहरुमा देखिएका छन् । जलेकै प्रधानमन्त्री कार्यालयमा बसेर भइरहेको जाँचबुझका लागि नष्ट भएका सबै सरकारी भवनहरुको विवरण माग्ने काम अहिले भइरहेको छ।
आयोगले २४ गतेको घटनामा आगोले जलेका भवनहरुको माटो तथा सिमेन्ट समेत फरेन्सिक परीक्षणका लागि प्रयोगशाला पठाएको छ। ति आक्रमणहरुमा कुन प्रकारको केमिकल प्रयोग भएको थियो भन्ने तथ्य पनि खोजिने आयोगले जनाएको हाे । २४ गतेको आक्रमणको प्रकृतिमा विज्ञ टोली मार्फत नै छानविन हुने उच्चस्तरिय जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माकाे दावी छ।
त्यसो त भदौ २३ गते बल प्रयोग गर्न संलग्नहरुलाई पनि बोलाएर बयान लिने तयारी पनि आयोग छ । घटना काठमाडौंमा मात्रै भएको छैन, उत्यका बाहिर पनि एक साथ आक्रमण भएकाले सबैको प्रकृति, समय र आग्जनीको शैली एकै प्रकारका छन् । आयोग उपत्यका बाहिर पनि जाने नै छ । त्यसो त २३ गते नै आन्दोलन भड्काउन संलग्न समुहहरुको पनि सुरक्षा निकायले विवरण संकलन गरिसकेको हाे ।
तर सरकारले नै २३ गत भड्काउने र २४ गते नियोजित आक्रमण गर्ने र प्रहरीको हतियार लुटने लगायत अपराधका फरार आरोपीहरुलाई कारबाहीको दायरामा ल्याउन साथ नदिएको गुनासो सुरक्षा निकायले गर्दै आएका छन् । अहिले पनि समाजमा हुन सक्ने अपराधको जिम्मेवारी सरकारले नै लिनुपर्ने भएकाले नियोजित अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन सरकारले कदम चाल्नु पर्ने आयोगका सदस्य विज्ञानराज शर्मालेआग्रह गर्नुभयाे ।
भदौ २३ र २४ गतेका घटनाको तथ्य संकलन गरेर दूधको दूध पानीको पानी छुट्याउन आयोग र सरकार कत्तिको सफल हुन्छन् भन्ने विषयमा नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय चासो पनि उत्तिकै छ ।
प्रतिक्रिया दिनुहोस्