Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनाैं घाइते


117
Shares

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएकाे छ।

साेही घटनामा परी दर्जनाैं घाइते भएकाे जनाइएकाे हाे। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिलेसम्म थाहा नभएको बताएका छन् ।

कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको निर्देशक चौधरीले बताएकाे हाे । नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी शुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताएका छन्।

यस अघि बंगलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा १ सय ११ जना कामदारको मृत्यु भएको थियो । साेही आगलागीमा परी २ सय जना भन्दा बढी घाइते भएकाे जनाइएकाे छ।