गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)
काठमाडौं, असोज ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भर्खरै नयाँ प्रमुख आयुक्त पाएको छ । नवनियुक्त प्रमुख आयुक्त नवीनकुमार घिमिरेसामु चुनौतीका पहाडहरु छन् ।
एकातिर भ्रष्टाचार नियन्त्रणको चुनौती छ भने अर्काेतर्फ राष्ट्रका अरु अंग तथा निकाय वा कार्यालय जसले उनलाई भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नसक्छन् उनीहरुमाथिकै छानबिन र निगरानी गर्नुपर्नेछ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांक २०१७ का अनुसार विभिन्न संस्थाले गरेको सर्वेक्षणमा नेपालको सार्वजनिक क्षेत्रमा व्यापक भ्रष्टाचार देखिएको छ ।
व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग भ्रष्टाचारको अर्को समस्या हो ।
यसैगरी, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमीलाई पनि सूचकांकले भ्रष्टाचारको कारणकारुपमा देखाएको छ । सूचकांककाअनुसार राजनीतिमा भ्रष्टाचार बढी नै देखिएको छ ।
यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये नेपाल ३१ अंक प्राप्त गरी १२२औं स्थानमा रहेको छ ।
यही तथ्यांकले पनि देखाउँछ, नेपालमा भ्रष्टाचारको मात्रा कति छ भनेर । नेपाल विशेषगरी लामो समय संक्रमणकालबाट गुज्रिएको र भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुलाई राजनीतिक दलहरुले आफ्नो नियन्त्रणमा राख्न खोजेको हुँदा भ्रष्टाचारको मात्रा बढेर गएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्याल पनि भ्रष्टाचारको मूलजरो राजनीति नै भएको बताउँछन् ।
भ्रष्टाचार सरकार, संसद, न्यायालयलगायतमा बढी हुने गरेको भन्दै उनले प्रणालीमै परिवर्तन नआएसम्म निरन्तर जारी रहने तर्क गरे ।
अख्तियारका नवनियुक्त प्रमुख आयुक्तको यही नै मुख्य चुनौती हो । नीतिगत भ्रष्टाचार नियन्त्रण अर्को चुनौती हो ।





प्रतिक्रिया दिनुहोस्