Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


विपिन जाेशी जीवित रहने सम्भावना न्यून


1.3k
Shares

काठमाडाैं । इजरायल र हमासबीच भएको सम्झाैताअनुसार हमासले साेमबार आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धकलाई रिहा गरेको छ।

तर बन्धक रिहाइले नेपालीहरुलाई भने निराश बनाएको हाे । दुई वर्षदेखि हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशी जीवित बन्धक रिहाइको सूचीमा नपर्दा निराशा छाएको छ। यति मात्रै होइन, हमासको कब्जामा रहेका मृत बन्धकको सूचीमा पनि विपिनको नाम रहेको छैन । जसले थप अन्यौल पनि बढाएको छ ।
इजरायल र हमासबीच भएको युद्धविराम अनुसार पहिलो चरणमै हमासको कब्जामा रहेका ४८ जना बन्धक रिहा गरिने खबरले दिएको खुशी लामो समय टिक्न सकेन । हमासले सोमबार आफूसँग रहेका अन्तिम जिवित बन्धक भन्दै २० जनालाई रिहा गरेपछि विपिन अब जीवितै होलान त ? भन्ने आसामा तुषारापात भएको छ । अमेरिकी र इजरायली सञ्चार माध्यमहरुले दुई दिन अघि जीवितै रिहा हुने सूचिमा नेपाली युवा विपिन पनि रहेको दावी समेत गरेका थिए ।

दुई दिन अघिको उक्त खबरले सामाजिक संजालभर विपिन जिवितै रिहा हुने भन्दै खुशी समेत छाएको थियो । विपिन जीवितै रिहा हुने सूचिमा नपरेको मात्रै होइन, उनको अवस्था समेत अझैसम्म पत्ता लाग्न नसक्दा विपिनका परिवारजनसहित संपूर्ण नेपालीहरुमा बज्रपातको अवस्था आइलागेको छ । विपिनको अवस्था के हो त ? भन्ने पनि निक्र्यौल पनि छैन । इजरायका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायली सेनाले जीवित बन्धकको सूचीमा विपिन नपरेको जानकारी दिएको र अब विपिन जीवित रहने अवस्था पनि न्यून रहेको भनेको बताउनुभयो ।

राजदूत पण्डितले विपिनको सास वा लाश जे भए पनि आफूहरुलाई चाहिएको भन्ने माग सम्बन्धित पक्षहरुमा पुर्याएको भन्दै विपिनका आमा र बहिनीलाई इजरायल बोलाएर जे भेटिन्छ त्यो जिम्मा लगाउने बताउनुभएको छ । हमासले बन्धक बनाएकाहरु मध्ये अहिलेसम्म अवस्था अज्ञात रहनेमा विपिन र अर्का एक जना इजरायली नागरिक समेत रहेको जानकारी यस अघि नै नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले इमेज समाचारलाई दिनुभएको थियो । दुई वर्ष अघि नेपाल सरकारले ‘लन एण्ड अर्न’ अर्थात कमाउँदै पढ्ने कार्यक्रम अन्तर्गत कञ्चनपुरका २३ वर्षीय विपिनलाई इजरायल पठाएको थियो ।

कृषि प्रविधि पढ्न गएका विपिन सन् २०२३ अक्टोबर ७ तारिखमा गाजा नजिकैको किबुत्ज अलुमिमबाट अपहरणमा परेका थिए । उक्त घटनामा १० जना नेपाली विद्यार्थीसहित १२ सय भन्दा बढीले ज्यान गुमाएका थिए । २ सय ५० जना बढीलाई भने हमासले बन्धन बनाएर लगेको थियो। यसबीचमा नेपाल सरकार, इजरायलस्थित नेपाली दूतावास र विपिनको परिवारले पनि विपिनको खोजीका लागि सक्दो प्रयास जारी राख्दै आएका थिए ।

तर अन्तिममा सारा नेपालीहरुलाई निराशा बनाउँदै बन्धक प्रकरणको पटाक्षेप भएको छ ।