
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)अन्तर्गत खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ।
राखेपमा सोमबार एक कार्यक्रमकाबीच केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई सोमबार प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्यसचिव घिसिङ, राष्ट्रिय टिम तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा खेलाडीमा देखिएका सुधारका पक्ष र राम्रो पक्ष लगायतका विषयमा जानकारी गराएका थिए ।
मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबल बाहेक क्रिकेट र फुटबल गरी ८ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदन बुझाइएको छ । प्रमुख अधिकारीले बाँकी खेलाडीको पनि परीक्षण गर्ने बताएका छन् । सदस्यसचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषदले अनुसन्धान केन्द्र र हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको उल्लेख गर्दै हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषदसँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
घिसिङले २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने समय आएको उल्लेख गर्दै सबै गम्भीर भएर अगाडि बढ्नु पर्नेमा जाेड दिएका छन् । सदस्यसचिव घिसिङले यो कार्यमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस्