Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई सञ्चारमन्त्री खरेलकाे आग्रह

राजनीतिक दल पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त

221
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएकाे छ।

सिंहदरबारस्थित मन्त्रालयमा साेमबार विभिन्न सञ्चारमाध्यमका सम्पादक एवं प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको र निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न समेत उहाँले आग्रह गर्नुभयाे ।

सञ्चारमन्त्री खरेलले राजनीतिक दलहरू पनि निर्वाचनका लागि प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएकाे छ। अब निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने बताउदै उहाँले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयाे ।

मन्त्री खरेलले ‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारप्रति राष्ट्रिय र अन्तरराष्ट्रिय जगतकाे समर्थन रहेको समेत स्पष्ट पार्नुभयाे । छलफलमा सहभागीहरूले निर्वाचनमार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउन सुझाव दिएका थिए।

निर्वाचनको माहोल बनाउन राजनीतिक दलसँगको संवादलाई निरन्तरता दिनुपर्ने र सरकारी सूचना प्रवाहलाई प्रभावकारी बनाइनुपर्नेमा उनीहरुकाे जोड छ।