Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


कार्की नेतृत्वको सरकार नेपालीको सरकार हैन: अध्यक्ष ओली

सडक तमासा गर्ने सरकारको डरले आफू नभाग्ने ओलीकाे दावी

676
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दावी गर्नुभएकाे छ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे। गृहमन्त्री ओम प्रकाश अर्याललाई आफूले नचिनेको तर उहाँले सम्हालिन सुझाव दिनुभएकाे छ। उहाँले राजनीतिलाई ख्यालठट्टा नठान्न समेत चेतावनी समेत दिनुभयाे।

उहाँले भन्नुभयाे,- ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद भंग गर्न सर्त राख्नुभयो । संसद भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो । उहाँलाई राम्ररी थाहा छ-संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताउनुभयाे ।

उहाँले राति-राति मिटिङ गरेर आफूसहित तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने भन्दै सडकमा समेत सरकार आफैं तमासा गरिरहेको बताउनुभयाे । उहाँले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि कार्कीको डरले आफू नभाग्ने समेत बताउनुभयाे ।

अध्यक्ष ओलीले जेनजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताउनुभएकाे छ।