
काठमाडौं । चलचित्र विकास बोर्डले बलिदानसहित ३ चलचित्रकाे कारोबार विवरण सम्बन्धी बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।
बोर्डले हाल प्रदर्शनरत ३ चलचित्र बलिदान, माइतीघर र हरिबहादुरको जुत्ताको कारोबार विवरण सार्वजनिक गरेको हो । यहि असोज १३ गतेदेखि असोज २० गते मध्यरातसम्मको बक्स अफिस विवरण अनुसार सर्वाधिक कमाइ बलिदानले गरेको छ । साेही चलचित्रले ३ करोड ७५ लाख ५३ हजार २ सय ५१ रुपैयाँ संकलन गरेको छ ।
त्यसैगरी हरिबहादुरको जुत्ताले ३ करोड २१ लाख ७० हजार १ सय ६० रुपैयाँ संकलन गरेको हाे । माइतीघरले भने २ करोड १३ लाख ६४ हजार ६ सय ९२ रुपैयाँ संकलन गरेको बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा उल्लेख गरिएकाे छ।
बडा दशैंका लागि भन्दै फूलपातीदेखि ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका थिए । चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी र राजाराम पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका हुन् ।
त्यसैगरी चलचित्र ‘माइतीघर’ केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर र प्रकाश सपुत लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्