Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


सरकारमा हुनेको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताको ज्यान गयोः प्रधानमन्त्री कार्की

राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिवद्धता

1.2k
Shares

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरुको ज्यान गएको बताउनुभएकाे छ।

विजया दशमीको दिन बिहीबार जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्ने बारेमा सोचेको बताउनुभयो । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ।

उहाँले भन्नुभयो,-‘दुःखद् घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जसकारणयो दुर्घटनाभयो । बच्चाहरुले पढ्ने कसरी ? उहाँहरुको पढाइ, कामहरु दिनेगरी सोचिरहेका छौं । उहाँहरुले मागेकै केही छैन । उहाँहरुको नोक्शान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट मद्दत गर्ने उठ्नलाई भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मृतक तथा शहीद परिवारलाई प्रधानमन्त्रीको चाहना अनुसार शहीद परिवारसँग समय बिताएको बताउनुभयो । शहीदहरुको रगतमाथि अन्याय हुन नदिने र शहीदहरुको रगतले न्याय पाउने उहाँकाे भनाइ छ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौं मानिस घाइते भएका छन् । यस वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले पनि सर्वसाधारणलाई दशैंको टीका नलगाइदिएका हुन् ।

प्रधानमन्त्री कार्कीले आफूले पनि जेनजी पुस्ताको मृत्युको शोकमा टीका ग्रहण गर्नुभएकाे छैन।