Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


काठमाडौं उपत्यकाका सडकमा दशैंमा टीका लगाउनेको चहलपहल बढ्यो


442
Shares

काठमाडाैं । नेपालीहरुको महानपर्व विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै बिहीबार काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरी आफन्तकोमा टीका लगाउन जाने क्रम शुरु भएको हो । काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु सवारीसाधन कुरेर बसिरहेको देख्न सकिन्छ ।

दुर्गापक्षको मुख्य दिन बिहीबार मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक ९ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ। बिहीबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजया दशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमीको आज सबै भन्दा महत्वपूर्ण दिन हो । त्यसैले आजको दिनलाई विजयको प्रतिकका रुपमा पनि लिइन्छ ।

गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट बिहीबार नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।