मानबहादुर ओली
सुर्खेत, असोज ५ । सुर्खेत–छिन्चु–जाजरकोट सडकखण्डको रावत गाउँमा कृषकहरु आकाशे पानीका भरमा बालीनाली लगाउन बाध्य थिए । सिँचाइको अभावमा छाक टार्न समेत धौँधौँ हुने कृृषि पेशा सौर्य उर्जाबाट सिँचाइ सुविधा गरिएसँगै आम्दानीको समेत राम्रो स्रोत बन्न थालेको छ ।
बस्ती नजिकैबाट भेरी सुसाइरहे पनि सुर्खेतकोे रावतगाउँमा सिँचाइको सुविधा थिएन । जसका कारण आकाशे पानीको बाटो हेरेर किसानहरुले कुर्नुपर्थ्यो । वर्षभरी मेहनत गरे पनि यहाँका स्थानीयलाई वर्षभरी खान पुग्ने खाद्यान्न उत्पादन गर्न हम्मेहम्मे पर्थ्यो । तर अहिले भने सौर्य शक्तिमा आधारित सिँचाइ प्रविधि भित्रिएपछि यस गाउँको मुहार नै फेरिएको छ ।
निर्वाह गर्न समेत नपुग्ने कृषिबाट माथि उठ्दै अहिले किसानहरु तरकारी खेतीको सुरुवात गरेका छन् । २९ लाख २६ हजार २ सय २४ रुपैयाँको लागतमा निर्माण भएको सौर्य शक्तिको प्रयोगबाट नदीको ८० मिटरमाथि ३७ घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण गरिएको छ । बाह्रैमहिना सिँचाइको सुविधा भएपछि कतिपय त विदेश जाने सोच त्यागेर गाउँमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
अर्कोतिर गाउँमा उत्पादित तरकारीले पनि राम्रै बजार पाएको छ । तरकारी बिक्रीका लागि नदीकिनारका फेरा, कुदु र छेडा बजारमा बिक्री हुने गर्छ । यहाँका किसान अहिले आफ्नो बारीमा फलेको तरकारी बेचेरै घर खर्च चलाइरहेका छन् ।
सिँचाइ सुविधा भएपछि धान, गहुँ, मकैजस्ता अन्नबालीको उत्पादन समेत बढ्न थालेको छ । जसको कारण आफ्नो जीवनस्तरमै स्ुधार ल्याएको कृषकको भनाइ छ ।
सिँचाइको सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका किसानहरु यस्तो प्रविधि ल्याएपछि उत्साहित भएका छन् । सिँचाइको समस्या भएका यस्ता अन्य ठाउँ कैयौँ छन् । कृषिलाई व्यावसायिक गराउन प्रोत्साहित गरेको यस प्रविधिले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पु¥याएको छ । त्यतिमात्र होइन, यस्तो प्रविधि सिँचाइ समस्या भएका अन्य स्थानमा पनि अनुशरण गर्न लायक छ ।
प्रतिक्रिया दिनुहोस्