Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


जेनजी युवाद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँग वार्ता गर्न वार्ता टाेलीकाे घाेषणा

संविधान खारेज गरेर अन्तरिम संविधान बनाउनुपर्ने वार्ताको बटमलाइन

4.3k
Shares

काठमाडाैं । जेनजी युवाहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगसँग वार्ता गर्नका लागि वार्ता टोलीकाे घाेषणा गरेका छन् ।

जेनजी वार्ता समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान निर्माण गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने माग अघि सारेका हाे । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिनुभयो । 

वार्ता टोलीका एक सदस्य प्रवेश दाहालले यो संविधानबाट देशले निकास नपाउने भन्दै राष्ट्रपति पाैडेलसँग छलफल गरेर आन्दोलनलाई सेफ ल्यान्डिङ गर्न चाहेको बताउनुभयाे । यो संविधान आफूहरूले नमान्ने उहाँको स्पष्टोक्ति थियो । आन्दोलनले राजा त फालेको बताउदै उहाँले यो संविधान यो सरकारले नै खारेज गरेर अन्तरिम संविधान लेख्न सक्ने जिकिर गर्नुभएकाे छ।

यो सरकार यसै पनि संवैधानिक होइन भन्दै उनीहरुले अन्तरिम संविधान बनाएर सरकारलाई वैधानिकता दिनुपर्ने र प्रत्यक्ष कार्यकारीको चुनाव गर्नुपर्ने वार्ताको बटम लाइन हुने पनि बताएका छन् ।