
काठमाडाैं । सरकारले जेनजी युवाकाे आन्दोलन दवाउन भूमिका खुलेको आरोप लागेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमण जान रोक लगाएकाे छ।
सरकारले गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालाको पासपोर्ट रोक्का राख्ने जनाएकाे हाे । साथै उनीहरुलाई विदेश भ्रमण गर्नबाट रोक्ने निर्णय गरिएकाे छ । त्यस्तै, उनीहरुलाई अनुमति विना उपत्यका छाड्न पनि सरकारले प्रतिबन्ध लगाएको हाे ।
सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनाएको छ । आन्दोलन दमन गरेको आरोप लागेकाले उनीहरुलाई आवश्यक पर्दा बयानका लागि आयोगमा उपस्थित गराउन पर्ने भएकाले बाहिर जान रोक्नु पर्ने भएको आयोगले जनाएको हाे । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सुरक्षा व्यवस्था फितलो बनाउन तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखेकले सडकमा कम प्रहरी देखाउन भनेको स्रोतको दावी छ ।
सडकमा भीड नियन्त्रणका लागि खटिनुपर्ने प्रहरीलाई संसद भवन थुपारिएको थियो । आन्दोलन दमनको आदेश गर्ने प्रमुख जिल्ला अधिकारीसहितका पदाधिकारी र आन्दोलनले पार्ने प्रभावकाे बारेमा पूर्वानुमान गर्न नसक्ने गुप्तचर विभागका प्रमखुलाई पहिलो घेरामा राखेर अनुसनधान अगाडि बढाइएको हो । जेनजी आन्दोलनका बारेमा सुरक्षा निकायले पहिले नै गृह मन्त्रालयका पदाधिकारीहरुलाई जानकारी गराएको थियो ।
तर गृहसचिव, गृहमन्त्री र प्रधानमन्त्रीले बेवास्ता गरेको सुरक्षाकर्मीहरुको भनाइ छ । जेनजी आन्दोलनको पहिलो दिन १९ जनाकाे मृत्यु भएकाे थियाे । साेही आन्दोलनमा परी हालसम्म ७५ जनाकाे मृत्युभएकाे छ । साथै सयाैं घाइते आन्दोलनकारीकाे काठमाडाैं उपत्यकासहितका विभिन्न अस्पतालमा उपचार जारी रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्