Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


चिउरा व्यवसायीकाे गुनासाे: ‘दशैंकाे मुखैमा ५० प्रतिशतले चिउराको माग घट्यो’


520
Shares

काठमाडाैं । भक्तपुरका चिउरा व्यवसायीले यस वर्ष विगतको वर्षमा भन्दा ५० प्रतिशतले चिउराको माग घटेको बताएका छन् ।

जेनजी युवा पुस्ताको आन्दोलनको प्रभाव र पैसा बजारमा नहुनुले पनि चिउराको मागमा कमी आएको हुनसक्ने व्यवसायीहरुले अनुमान गरेका हुन् । परम्परागत परिकारको रूपमा चिउराले दशैंमा विशिष्ट स्थान ओगट्दै आएको छ । यसलाई धार्मिक, साँस्कृतिक र पारिवारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । चिउरा व्यवसायी दिनेशप्रसाद काफ्लले बजारमा करिब ५० प्रतिशतले माग घटेको बताउनुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण माग घटेको हुनसक्ने उहाँले बताउनुभएकाे छ । उत्पादन स्थलमा अर्थात चिउरा मिलहरूमा भने विक्रीमा तुलनात्मक रूपमा वृद्धि भएको व्यवसायी काफ्लेको भनाइ थियाे । स्थानीय उपभोक्ताहरू सिधै मिलमै पुगेर चिउरा किन्ने प्रवृत्ति बढेको समेत उहाँले बताउनुभयो ।

दशैं लगायत महान पर्वका लागि ताजा र राम्रो चिउराको लिन मिलमै आउने गरेको ग्राहक रामशरण ढकालले बताउनुभएकाे छ । बाहिर पसलमा भन्दा गुणस्तरीय चिउरा मिलमा पाउने भएकाले प्रत्येक वर्ष जस्तौ यो वर्ष पनि मिलमा आएको उहाँले बताउनुभयो । पसलमा पाइने चिउरा प्रायः धेरै दिनसम्म स्टोरमा राखिएको, कहिलेकाहीँ नमीठो र फिक्का हुने गरेको अनुभव सुनाउँदै उहाँले मिलमा बनेको ताजा चिउरा आफ्नो र परिवारको रोजाइको पहिलो नम्बरमा पर्ने बताउनुभएकाे छ।

मिलको चिउरामा मिसावट नहुने भएकाले आफू पहिलेदेखि नै मिलमा चिउरा लिन आउने गरेको अर्का उपभोक्ता कमलप्रकाश वनले बताउनुभयो । त्यसैगरी, मूल्यको विषयमा पनि आफ्ना धारणा राख्दै बजारमा पाइने चिउराको तुलनामा मिलमा पाइने चिउराको मूल्य निकै सस्तो हुनुका साथै गुणस्तरमा पनि उच्च रहेकोले उपभोक्तालाई आर्थिक रूपमा समेत सहज हुने गरेको उहाँकाे भनाइ छ ।

पकाउन नपर्ने, सजिलै भण्डारण गर्न मिल्ने भएकाले विशेषगरी शहरमा चिउराको खपत उच्च हुन्छ । दशैं-तिहार जस्तो महान पर्वमा मासु, तरकारी, दही, दुूध र केरा जस्ता परिकारसँग चिउरा खाने चलन रहेकाे छ।