
काठमाडाैं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ।
काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा शुक्रबार अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले मापदण्ड विपरित चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १-२ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । उनीहरुले अनुगमनको क्रममा मापदण्ड विपरित खाद्य भण्डार गरेको र सरसफाईमा कमी रहेको उल्लेख गरेका छन् ।
उनीहरुले तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेष्टुरेञ्ट सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मापदण्ड विपरित चल्ने कुनैपनि होटल तथा रेष्टुरेण्टहरुलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताउनुभयो । उहाँले अनुगमनको क्रममा किचनमा सफाईको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गर्नुभएकाे छ।
उहाँले भन्नुभयो,-‘सामान्यतया किचनको सरसफाई सन्तोषजनक अवस्थामा नरहेको पायौं । उनीरुले गरेको सरसफाईको अभ्यास र हाईजिन र सेनिटेशन मेन्टेनका लागि गरेको प्राक्टिसहरु अपर्याप्त भएको अनुभव गरेका छौं । यो किचनमा देखिएको कमी सुधार गर्नका लागि निर्देशनसहित जानकारीमूलक कुराहरु गरेका छौं । अव अर्को पटक आउँदा पनि यस्तो खालको अवस्था देखियो भने कारबाही हुन्छ भनेर सम्झाउने काम पनि भयो । मापदण्डअनुसार खानाहरुको भण्डारण गर्नुस, कमी सुधार गरेर २ देखि ३ दिन भित्र कार्यालय उपस्थित हुनु भनेर निर्देशन दिएर हामी गएका छौं । आउनु भएन भने हामी फलोअप गरेर कारबाहीको प्रक्रियामा जान्छौं ।’
सरकारले दशैं-तिहार जस्ता महान पर्वलाई ध्यानमा राखेर प्रत्येक वर्ष अनुगमनको कामलाई तीव्रता दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्