Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई पाँच वर्षको जेल सजाय


819
Shares

काठमाडाैं । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पाँच वर्षको जेल सजाय तोकिएको छ ।

पेरिसको अदालतले पूर्वराष्ट्रपति सार्कोजीलाई सन् २००७ को राष्ट्रपति चुनावमा लिबिया सरकारबाट अवैध आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गर्दै जेल सजाय तोकेको हो ।

अदालतले उहाँलाई विदेशी स्रोतबाट चुनाव जित्नका लागि गैरकानुनी धन प्राप्त गरेको आरोपमा दोषी ठहर गरेको हो । तर भ्रष्टाचार, लिबियाको सार्वजनिक धनको दुरुपयोग र अवैध चुनावी लगानी जस्ता तीन अन्य आरोपहरूमा भने उहाँलाई सफाइ दिइएको छ । सार्कोजीमाथि लिबियाका तत्कालिन तानाशाह मुअम्मर गद्दाफीको सरकारबाट करोडौँ युरोको गोप्य रकम हासिल गरेको आरोप लागेको थियो ।

सन् २०११ मा लिबियाको समाचार एजेन्सी र स्वयं गद्दाफीले लिबियाले सार्कोजीको चुनावी अभियानलाई आर्थिक सहयोग गरेको कुरा बाहिर ल्याएका थिए । सन् २००५ मा सार्कोजी र उहाँका मान्छेहरूले गद्दाफी शासनसँग सम्झौता गरेका थिए, जसमा चुनावी आर्थिक सहयोगको बदलामा लिबियालाई कूटनीतिक, कानुनी र व्यापारिक सहयोगको प्रतिबद्धता गरिएको थियो ।

त्यसैगरी सार्कोजीले गद्दाफीको छवि विश्वव्यापी रुपमा चम्काउने आश्वासन पनि दिनुभएको अदालतमा बहसका क्रममा खुलासा भएको थियो । सार्कोजी राष्ट्रपति बन्नासाथ सन् २००७ मा गद्दाफीलाई पेरिसको राजकीय भ्रमणमा डाक्नुभएको थियो । तर सन् २०११ मा सार्कोजीले नै नेटोको नेतृत्वमा लिवियामा हवाई हमलालाई गरी गद्दाफीको सत्ता पल्टाउन साथ दिनुभएको थियो ।