Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्छः प्रधानमन्त्री कार्की


676
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएको बताउनुभयो । युवा पुस्ता लगायत परिवर्तन पक्षधर आम नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भएर संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि उहाँले आग्रह गर्नुभएकाे छ।

उहाँले उद्योग व्यापार तथा व्यवसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्न आन्दोलनबाट प्रभावित उद्योग, व्यापार व्यवसायिक प्रतिष्ठानलाई राहत, कर र सहुलियत सुविधाहरु प्रदान गरी आर्थिक क्रियाकलाप सहज रुपमा सञ्चालन गर्न एकीकृत व्यवसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले युवा पुस्ताको सोच र भावना बमोजिम कर्मचारीले आफूलाई रुपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा लाग्न निर्देशन दिनुभएकाे छ।