Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


राष्ट्रपति पौडेलद्वारा मतदाता नामवली सम्बन्धी अध्यादेश जारी(विज्ञप्तिसहित)

याेसँगै निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुल्याे

1.3k
Shares

काठमाडौं। राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवली सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ।

प्रधानमन्त्री सुशीला कार्कीसँगकाे भेटवार्ता पछि पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएकाे हाे । याेसँगै निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । यसअघिको कानून अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ सालको निर्वाचनअघि मतदाता नामावली संकलन गरेको थियो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएकाे हाे। निर्वाचन अयोगले गत आइतबार मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गर्दै गृह मन्त्रलायलाई पत्राचार गरेको थियो ।

निर्वाचन आयोगले अध्यादेशमार्फत मतदाता नामावली संकलन गर्ने कानूनी बाधा फुकेसँगै आयोगको बैठक बसेर मतदाता नामावली संकलन गर्न मिति तोकिने जनाएकाे छ ।