२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


बेवारिसे शव व्यवस्थापनमा समस्या (भिडियो)


0
Shares

काठमाडौं, असोज ५ । प्राकृतिक प्रकोप, दुर्घटना लगायत विभिन्न कारणले मृत्यु भएका तर पहिचान खुल्न नसकेका शवहरुको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

विश्वका अन्य देशहरुमा बेवारिसे शवहरु जमिनमा गाडेर व्यवस्थापन गर्ने गरिन्छ । तर नेपालमा भने शव गाड्ने उपयुक्त जमिन नहुँदा शव व्यवस्थापन जटिल देखिएको हो ।

बेवारिसे शवलाई धेरै समयसम्म चिस्यान केन्द्रमा राख्न खर्चिलो हुने भएकाले विश्वभर नै शवको पहिचानमा सहयोग पु¥याउने वस्तुहरु सुरक्षित राखि शवलाई जमिनमुनि गाड्ने गरिन्छ । बर्षौैंपछि पनि परिवार तथा आफन्तले शवको खोजी गरेमा गाडेको ठाउँबाट अस्थिपञ्जर निकालेर जिम्मा लगाउन सकियोस् भनेर शवलाई गाड्ने गरिएको हो ।

नेपाल प्रहरीका अनुसार गत एक वर्षमा मात्रै देशभरमा बेवारिसे शवको संख्या १ हजार ९८ रहेको छ । काठमाडौंमा चिस्यान केन्द्र उपलब्ध भएकाले शवलाई ३५ दिनसम्म सुरक्षित राख्ने गरिए पनि चिस्यान केन्द्र नभएका जिल्लाहरुमा शव धेरै दिन राख्न नसकिने भएकाले केही दिनमै व्यवस्थापन गर्ने गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले शव व्यवस्थापनका लागि जमिन उपलब्धताको आधारमा गाड्ने वा जलाउने गरेकोे बताउँदै सम्भव भएसम्म जलाउनु उपयुक्त नहुने बताए ।

शवहरु गाड्दा पनि निश्चित दुरी राखेर एक तहमा मात्र शव गाड्नुपर्ने हुन्छ । तर जमिन अभावका कारण महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले वर्षौंदेखि विभाग अगडिको खाली जमिनमा खातमाथि खात लगाएर बेवारिसे शव गाड्दै आएको थियो । तर उक्त जमिनमा पनि क्याम्पस भवन बनाउने निर्णय भएकाले करिब एक वर्षदेखि सो खाली जमिनमा शव गाडिएको छैन ।

शव गाड्नका लागि नयाँ जग्गा व्यवस्थापन नभएकाले बेवारिसे शव पोस्टमोर्टमपछि प्रहरीलाई नै जिम्मा लगाउने गरिएको छ । बेवारिसे शव व्यवस्थापनको समस्या अहिले नै जटिल समस्या बनिसकेकाले तत्काल व्यवस्थापनको उपाय खोज्न सरोकारवाला निकायहरु संवेदनशील हुन जरुरी छ ।

भिडियो हेर्नुहोस्