
काठमाडौं ।
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार, अब कांग्रेस सरकारबाट बाहिरिएको छ र नयाँ सरकार गठनका लागि पहल थाल्ने निर्णय भएको छ । प्रदेश सांसद अञ्जना पण्डितले बैठकले समर्थन फिर्ता लिने निर्णयसँगै वैकल्पिक सरकार गठनको गृहकार्य सुरु गर्ने सहमति भएको जानकारी दिइन् ।
गत भदौ २४ गते जीनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिने घोषणा गरेका थिए । तर पछि उनले अडान फेर्दै संसद्मा विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री सिंहको पछिल्लो अडानसँग असन्तुष्ट जनमत पार्टीले भदौ ३१ गते आफ्ना मन्त्रीहरू फिर्ता गर्दै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभामा बुझाइसकेको छ ।
सिंह नेतृत्वको सरकार जनमत पार्टीको तर्फबाट बनेको भए पनि प्रमुख सहयोगी कांग्रेसले अहिलेसम्म समर्थन कायमै राखेको थियो । तर एमालेले भने सिंहलाई विश्वासको मत दिने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्