Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


नागरिकले बुझ्नेगरी कानून स्पष्ट भाषामा लेख्ने मन्त्री सिन्हाकाे निर्णय


1.4k
Shares

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा मंगलबार उहाँले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गर्नुभएकाे हाे । उहाँले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरुमा आवश्यक संशोधन गरिने बताउनुभयो । उहाँले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ।


उहाँले भन्नुभयो,-‘जेनजी पुस्ताले उठाएको मुख्य विषयवस्तु नै सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र मुलुकमै काम गर्ने अवसर हो । अहिले जुनजुन तहबाट प्रश्न उठेका छन् ति सबै विषयहरुलाई क्रमशः सम्बोधन गर्दै लैजानुपर्ने विषयवस्तुहरु हुन् । हामी सबैले प्रष्ट रुपमा बुझ्नुपर्छ यो चुनावी सरकार नै हो । हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक पर्ने केही कानूनी विषयहरु छन् । ति विषयहरुमा केही संशोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानूनहरु संशोधन गर्छौं । पहिलो निर्णयका रुपमा कानून निर्माण गर्ने प्रक्रिया, शैली र भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौं ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।