
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताउनुभएको छ ।
काठमाडाैंमा मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारको मुख्य काम निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु रहेको उहाँकाे भनाइ छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउने दायित्व पनि सरकारको रहेको सञ्चारमन्त्री खरेलले बताउनुभयाे ।
निर्वाचनको वातावरण बनाउनका लागि निर्वाचन आयोगलाई आवश्यक सबै व्यवस्था मिलाउने काममा पनि सरकारले ढिलाई नगर्ने समेत उहाँले बताउनुभएकाे छ। जेनजी आन्दोलनको क्रममा भएका भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको एकिन गरी त्यस कार्यमा संलग्नमाथि छानविन गरी सरकारले काम गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,-‘सबैले चुनावमा भाग लिनसक्ने वातावरण तयार गर्ने सरकारको दायित्व हो । त्यसलाई सरकारले अर्जुनदृष्टिमा राखेको छ । अर्को कुरा जेनजी आन्दोलनले उठाएको माग भनेको सुशसनको कुरा हो । भ्रष्टाचार नियन्त्रणको कुरा हो । विधिको शासन हो । चुस्त-दुरुस्त सार्वजनिक सेवा प्रवाहको कुरा हो । त्यो कुराहरु रातारात हुने भन्ने हुँदैन । तर महशुस हुने गरेर काम हुन्छ । सुशासन भनेको ठयाक्कै रोड बनाएजस्तो त हुँदैन । तर जनताले महशुस हुने गरेर अगाडि बढने र तेस्रो यो जति क्षति भएको छ । त्यसको छानविन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने सरकारको प्राथमिकता हो । मुख्य काम सरकारको यहि हो ।’
मन्त्री खरेलले सरकारले सार्वजनिक सेवा प्रवाहको कामलाई चुस्त-दुरुस्त बनाउने र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्