
काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा मंगलबार भएको साेही छलफलमा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालन लगायतका विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन्।
छलफलमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरू छन् भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी गराउनुभयाे। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको र पछि आउने चुनौतीका विषयमा प्रधानमन्त्री कार्कीसँग निरन्तर छलफल हुने बताउनुभएकाे छ।
निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा सरकार र आयोग स्पष्ट रहेको बताउँदै उहाँले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयाे । आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधन लगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्