Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, तुइन खोलामा लगातार पहिरो


429
Shares

काठमाडौं ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक लगातार पहिरो खसिरहेकाले उक्त सडक सञ्चालन कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ।

पहिरो खस्ने क्रम नरोकिएकाले ३६ घण्टादेखि अवरुद्ध सडक पन्छाउने काममा कठिनाइ आएको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको भए पनि माथिबाट फेरि–फेरि पहिरो खस्ने क्रम जारी रहेकाले काम प्रभावित भएको हो।

सडक खुलाउने प्रयासमा मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा मेसिन प्रयोग गरिएको छ। रातको समयमा काम गर्न जोखिमपूर्ण भएकाले शनिबार साँझदेखि आइतबार बिहानसम्म काम रोकिएको थियो।

करिब ७० मिटर उचाइबाट खसेको पहिरोले करिब १६ मिटर उचाइ र १० मिटर चौडाइमा फैलिंदै १६० मिटर सडक ढाकेको जनाइएको छ। सडक अवरुद्ध हुँदा शुक्रबारदेखि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने यो सडकखण्ड अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।

डिभिजनले नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) मार्ग प्रयोग गर्न सल्लाह दिएको छ।