
काठमाडाैं । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
१७औं नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले शनिबार आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गर्नुभएकाे हाे । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ६ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको उपप्रमुख बेघाले बताउनुभयाे।
साथै आर्थिक विकासतर्फ १ करोड २९ लाख, वन वातवरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख ५० हजार, कानून तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजानिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि २१ करोड विनियोजन गरेको उपप्रमुख बेघाले बताउनुभयाे ।
त्यसैगरी नगर कार्यपालिकातर्फ निःसर्त विनियोजन र १ अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट १ करोड ८२ लाख र विशेष अनुदानबाट ५ करोड ४३ लाख विनियोजन गरिएको नगरपालिकाले जनाएकाे हाे ।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद व्यवस्थापन लगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको नगरपालिकाकाे दावी छ ।
प्रतिक्रिया दिनुहोस्