Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जेनजी आन्दोलन: दशैंमा सहुलियत दरमा खसी-बोका र च्यांग्रा बेच्ने खाद्य कम्पनीको योजना स्थगित


819
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको जेनजी आन्दोलका कारण दशैंमा खसी-बोका र च्याङ्ग्रा काठमाडौं ल्याएर सहुलियत दरमा बिक्री गर्ने याेजना प्रभावित भएकाे छ ।

कम्पनीले अन्ततः यस वर्षको दशैंका लागि खसी-बोका र च्याङ्ग्रा खरिद गर्ने योजना स्थगित गरेको जनाएको हाे । यो वर्षका लागि खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको कम्पनीको खरिद विभागले जनाएकाे छ खसी-बोका र च्याङ्ग्रा स्थानीय तहहरूसँग समन्वय गरेर ल्याउनु पर्ने हुन्छ ।

तर, अहिले अवस्था सहज भए पनि सबै प्रक्रिया पूरा गर्न समय नपुग्ने भएपछि अन्ततः स्थगित नै गरिएको विभागले जनाएकाे हाे। साथै पछिल्लो समय अविरल वर्षाका कारण बाढी पहिरोले सडक अवरुद्ध भइरहने समस्या भएकाले पनि थप चुनौती उत्पन्न भएको हाे ।

खाद्यले यसअघि दशैंमा खसी-बोका र च्याङ्ग्रा बिक्रीका लागि गत भदौ १७ गतेदेखि ३० गतेसम्मका लागि अनलाइनमार्फत अग्रिम बुकिङ खुला गरेको थियो । जसअनुसार उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसीबोका वा च्याङ्ग्रा छनोट गरी बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएको थियो

च्याङ्ग्रा बुकिङका लागि प्रतिगोटाको ५ हजार रुपैयाँ र खसीबोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क तोकिएको थियो । याेसँगै बुकिङ शुरु हुन थाले पनि सरकारले बिचमै सामाजिक सञ्जाल बन्द गराएपछि सामाजिक सञ्जालमा निर्भर आफूहरूको बुकिङ सेवा पनि प्रभावित भएको कम्पनीले जनाएकाे छ।

कम्पनीले यो वर्ष १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा खरिद गर्ने लक्ष्य लिएको थियो । यद्यपि, अनलाइन बुकिङको मागका आधारमा बिक्री गरिने भएका कारण यो संख्यामा केही वृद्धि हुन सक्ने जनाएको थियो । दशैंमा बिक्री वितरणका गरिने खसी–बोका र च्याङ्ग्राका खरिद लागि कम्पनीले ५ करोड रुपैयाँ समेत छुट्याएको जनाएकाे छ ।