Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


शेरबहादुर देउवाको टाउको र गर्धनमा गम्भीर चोट, लगाइयो १२ टाँका


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोको पछाडिपट्टि र गर्धनमा चोट लागेर करिब १२ वटा टाँका लगाइएको छ।

गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि छलफल भएको छ। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिए।

‘सभापतिज्यूको टाउकोमा गम्भीर चोट लागेर टाँका लगाइएको छ, गर्धनमा पनि चोट छ। तर दुवै घाउ क्रमशः निको हुँदै गएका छन्। उहाँ सामान्य रूपमा बोल्न र हिँड्न सक्नुहुन्छ,’ विश्वकर्माले भने। उनका अनुसार देउवा अहिले पार्टीका साथीहरूसँग संवाद गर्न सक्ने अवस्थामा छन्। तर ‘उठ्दा चक्कर लाग्ने र बोल्दा असजिलो हुने समस्या देखिएकाले केही दिन थप उपचारमा रहनुपर्नेछ।’

उनले देउवाकी पत्नी आरजु राणा देउवाको स्वास्थ्यमा पनि उल्लेखनीय सुधार भएको जानकारी दिए। घाइते अवस्थामा भेटिएका घाउको स्वरूप हेर्दा उनीहरूलाई सिसा, रड वा धारिलो हतियार प्रयोग गरेर आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ।