
काठमाडौं । वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न यूएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानले बिहीबार आयोजना गरेको कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले साेही टोलीको बिदाइ गरेका हुन् । नेपालले यूएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० शृङ्खला खेल्ने भएकाे छ । जसमा नेपालले यहि असोज ११, १३ र १४ गते खेल्ने भएकाे हाे ।
यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृङ्खला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रो पटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको हाे । बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताएका छन् ।
उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको पनि उल्लेख गरेका हुन् । साेही बिदाइ कार्यक्रम अघि त्रिवि मैदान कीर्तिपुरमा जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेकाे थियाे ।
आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको समेत मृत्यु भएको थियो ।
प्रतिक्रिया
प्रतिक्रिया दिनुहोस्