
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै राजनीति शक्तिहरुबीच नयाँ समझदारी कायम गरेर अघि बढ्न प्रस्ताव गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सोही निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा फेरि कसैले कहिल्यै द्वन्द्व गर्न नपाउने गरी र कसैले पनि आफूलाई उपेक्षित गर्न नपाउने नयाँ समझदारी कायम हुनुपर्ने माग गर्नुभएकाे छ । देशमा यति ठूलो समस्या हुँदा संसदले समाधान गर्न नसक्नुले नै संसद असफल भएको पुष्टि हुने उहाँकाे दावी थियाे ।
संसद पुनः स्थापना गर्नु भनेको देशलाई फेरि द्वन्द्वमा धकेल्नु रहेको उहाँले बताउनुभयो । अहिलेको जेनजी विद्रोहले ल्याएको सबै भन्दा ठूलो परिवर्तन पुस्तान्तरण भएको उहाँकाे भनाइ छ । राप्रपाले अन्तरिम सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा शतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जाने बताएको छ । राप्रपाले भ्रष्टाचारी र जेनजी आन्दोलनका नरसंहारकर्तालाई कारबाही हुनुपर्ने माग गरेको हाे । सरकार मात्रै परिवर्तन गरेर जेनजीको बलिदान सफल र पूर्ण नहुने राप्रपाले स्पष्ट पारेको छ ।
अध्यक्ष लिङदेनले राजा आउने सम्भावना अत्यन्त प्रवल बनेको बताउनुभयो । उहाँले जेनजी पुस्ताले गरेको आन्दोलन राजा ल्याउनका लागि नभइ भ्रष्टाचार र बेथितिका विरुद्ध भएको पनि बताउनुभएकाे छ । आन्दोलनले नेपालमा दीर्घकालीन स्थायित्वका लागि, समृद्धि, श्रीवृद्धि र नेपाललाई वैदेशिक हस्तक्षेपबाट जोगाउनका लागि राजसंस्था आवश्यक रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।
उहाँले चाँडै नेपाली जनताले महशुस गरेर राजनीतिक र नेपाली जनताले राजसंस्थालाई अभिभावकीय रुपमा पुनःस्थापित गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सबै शक्तिहरुकाबीचमा नयाँ समझदारी गरेर देश निर्माणमा लाग्नुपर्नेमा उहाँकाे जाेड छ । अध्यक्ष लिङदेनले प्रदेश सरकारमा पनि राप्रपा सांसदहरुले राजीनामा दिने बताउनुभयो । प्रदेश सभा खारेज भएर जानुपर्ने उहाँकाे भनाइ छ । उहाँले एउटा सरकार परिवर्तन गर्ने कुरा मात्रै आन्दोलनको उद्देश्य नभएको बताउनुभयो । अन्तरिम सरकार आफैं संविधान बाहिरबाट आएपछि संविधान मरिसकेको उहाँले बताउनुभयो ।
अध्यक्ष लिङदेनले अहिलेको सरकारले आँट गरेर जेनजी आन्दोलनको भावना अनुसार प्रणालीमै सुधार गर्ने आँट गर्नुपर्ने बताउनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्