Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


आगामी निर्वाचन समयमै सम्पन्न गराउन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी (भिडियाेसहित)

कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दल निर्वाचनमा सहभागिता हुने

702
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन समयमै सम्पन्न गराउन तयार रहेको बताउनुभएको छ ।

नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रमलाई बिहीबार सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आयोगलाई काम गर्नबाट पन्छिने छुट नरहेको उल्लेख गर्दै निष्ठा माथि प्रश्न गर्ने ठाउँ नदिने उहाँले प्रतिवद्धता पनि जनाउनुभयो । शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न नसकिने स्थितितर्फ समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउनुभयो । कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागिता हुने उहाँकाे भनाइ छ । राजनीतिक दल निर्वाचनमा प्रतिष्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरुलाई समेत बिना अवरोध निर्वाध रुपमा प्रचारप्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।

उहाँले भन्नुभयो,-‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन । निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ । त्यो प्रयोजनका लागि पूर्वतयारी हामीले शुरु गरिसकेका छौं । त्यसमा हामी सबै कर्मचारी साथीहरु खटिसक्नुभएको छ । सबै जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ । पूर्ण प्रतिष्पर्धात्मक रुपमा निर्वाचनको सामान खरिद गर्न सक्यौं भने स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन गर्ने र अतिमितव्ययी निर्वाचन गर्ने र निर्वाचन आयोगको निष्ठामा कसैले शंका गर्न दिनेछैनौं । मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बिलिएको छ । यो सबै जानेकै विषय हो । सुरक्षाकर्मी बस्ने कतिपय भवन छैन । सुरक्षाकर्मी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारीको कार्यालयमा कति ठाउँ क्षतविक्षत छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याईदिएमा कानूनमा रहेका बाधाहरु हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने समेत बताउनुभयो ।