
काठमाडाैं । जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा माग दावी पर्ने क्रम उच्च देखिएको छ ।
प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार ९ सय ८४ वटा दावी परेका हुन् । जसको दावी रकम करिब २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढी रहेको छ । बीमा कम्पनी मध्ये सबै भन्दा बढी दावी दि. ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको हाे। सोही कम्पनीमा ४० वटा दावी दर्ता भई दावी रकम करिब ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । जसमा २ सय ५८ दावी दर्ता भई करिब ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हाे ।
त्यसैगरी, शिखर इन्स्योरेन्समा २ सय ६६ दावी भई २ अर्ब ३९ करोड रुपैयाँ दावी भएको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २४ वटा दावी बापत १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ सय ३३ वटा दाबी बापत १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १९६ वटा दावी बापत १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ४० वटा दावी बापत १ अर्ब ९ करोड ५३ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
प्राधिकरणका अनुसार सानिमा जीआइसी इन्स्योरेन्समा १ सय २९ वटा दावी बापत ७८ करोड ९३ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा १ सय ७२ वटा दावी बापत ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा १ सय ७० वटा दावी बापत ४८ करोड ५१ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
नेपाल इन्स्योरेन्समा ७९ वटा दावी बापत ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा १ सय ५१ वटा दावी बापत ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योेरेन्समा ६९ वटा दावी बापत १९ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा १९ वटा दावी बापत ६ करोड ८२ लाख रुपैयाँको कुल प्रारम्भिक बीमा दावी परेको छ ।
साथै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नौ वटा दावी बापत १ करोड १३ लाख रुपैयाँ, स्टार माइक्रो इन्स्योरेन्समा ६ वटा दावी बापत ६७ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा १५ वटा दावी बापत ५६ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ वटा दावी बापत ४२ लाख रुपैयाँको बीमा दावी परेको हाे ।
जेनजी आन्दोलनका कारण ठूलो क्षति भएको थियो । संघीय संसद भवनदेखि सरकारी कार्यालय र व्यपारिक घरनाहरु ध्वस्त हुँदा खबौँको क्षति भएको थियो । अहिलेसम्मको दावी आकलन हेर्दा ३५ अर्बसम्म दावी पर्न सक्ने अधिकारीहरुको आकलन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्