Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


कति डढ्याे नेताकाे पैसा, अब कति बाँकी ? (भिडियाे रिपाेर्ट)


1.8k
Shares

विकास थपलिया

काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशासनको माग गर्दै जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनले सत्तापलट मात्रै गरेन बरु उनीहरुले दावी गरे जस्तै नेताहरुले देश लुटेका दृश्यहरु पनि सतहमा ल्याइदिएकाे छ।

आन्दोलनकारीहरुले धावा बोलेका शीर्ष नेताहरुदेखि कनिष्क नेताहरुसम्मका घरमा फेला परेको पैसा र गर-गहनाको स्टोरले देश कसरी लुटिएको रहेछ भन्ने प्रमाण पनि दिएको हाे । तर ती प्रमाणहरु जोगाएर सम्बन्धित ब्यक्तिहरुमाथि अनुसन्धान गर्नेतर्फ नवगठित सरकारको ध्यान गएको छैन ।

जेनजी आन्दोलनका क्रममा मुख्य राजनीतिक दलका शीर्ष नेताको घरमा भएको आगजनीका कारण ठूलो मात्रामा पैसा जलेको र खरानीका थुप्रा पनि पैसाकै भएको भन्दै सार्वजनिक गरिएका दृश्य यति बेला सामाजिक सञ्जालमा डढेलाे झैं फैलिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित दलका मुख्य नेताको घरका कोठामा करोडौं रुपैयाँ यसरी नै लुकाइएको र त्यसमध्ये ज्यादातर पैसा जलेर नष्ट भएको देखिएको छ ।

जसको सत्य–तथ्य के हो भन्ने प्रमाणित भने भइसकेको छैन । तर सामाजिक सञ्जालमा सार्वजनिक भएका क्लिपहरूमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निजी निवासमा ठूलो परिणाममा रकम र आभुषण डढेको देखिन्छ ।

यस रिपोर्टमा प्रयोग गरिएका अधिकांश दृश्य एवं तस्बिरहरु घटनास्थलमा पुगेका सर्वसाधरणको सामाजिक सञ्जालबाट समेत प्रयोग गरेका छौं । गत भदौ २४ गते सार्वजनिक र निजि सम्पत्तिहरुमथि जसरी नियोजित आगो लगाइयो त्यसको गम्भिर अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुको विकल्प छैन । तर कतिपय घरमा यस्ता दृश्य देखिए जसले जेनजीहरुले राखेको मुख्य मागलाई बल पुर्याइरहेको छ ।

आन्दोलनकारीहरुले केही नेताहरुका घरमा आगो मात्रै लगाएका छैनन् । भित्रबाट पैसा उडाएकोदेखि घरभित्र गाडेर राखेको करौडौं रुपैयाँसम्म सार्वजनिक भइरहेका छन । नेताहरुका घरबाट उडाइएका र गाडेर राखिएको सम्पति अहिलेको सरकारका लागि तिनीहरुमाथि अनुसन्धान गर्ने पहिलो प्रमाण हुने भएकाे छ । शेरबहादुर देउवाको घरमा त झनै नोट राख्ने अलग्गै कोठा मात्रै नभएर एक स्टोर रुम नै फेला परेको छ ।
त्यसका भित्तामा दराज र र्याकहरु राखेर त्यसमा नोट भरेर राखेको देखिन्छ । उक्त कोठाको आकार यति ठूलो छ की सतहको क्षेत्रफल नै १५ वर्ग फुट हाराहारीमा देखिन्छ । यो कोठामा भरिभराउ नोट राख्दा ३ करोड भन्दा धेरै संख्यामा नोट राख्न सकिने देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको घरमा नोट जलेको खरानीले पनि देउवा निवासमा जस्तै ठूलो परिमाणमा अवैध रकम राखिएको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

फरक-फरक बाकसमा विभाजित र्याकका कारण देउवाको घरमा नोट एकै ठाउँमा डढ्न पाएन । त्यसैले मानिसहरुले पछिसम्म पनि नोट फेला पार्ने अवस्था बन्यो । देउवा निवासको यो कोठाको भूइँमा भूमिगत पानी ट्यांकी जस्तो देखिने सानो खाडल पनि फेला परेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर त्यहाँ बालुवाबाहेक अरु केही भेटिएको छैन । वा पहिले नै कसैले त्यहाँबाट बहुमूल्य रत्न तथा आभूषण चोरिसकेका पनि हुनसक्छन । यद्यपी, त्यहाँ न खरानी थियो, न नगद वा अन्य गरगहना नै ।

माओवादी अध्यक्ष दाहालको घरमा अन्दाजी ६ फुट लामो र ४ फुट फराकिलो गोप्य कोठामा पैसा राखिएको देखिन्छ । कोठाको उचाई १ फुट हाराहारी थियो । यस आधारमा उक्त कोठामा एक हजार दरका नोटहरु बाकसमा जस्तै मिलाएर राखेको र पूरापूर भरिभराउ थिए । सो कोठामा करोडौं रुपैयाँ ब्यवस्थापन गर्न सकिने देखिन्छ ।

उता ऊर्जामन्त्री दीपक खड्काको घरबाट त नोटहरु हावामा उडाइएका भिडियोहरु सार्वजनिक भए । त्यहाँ बोरामा राखिएको पैसा आन्दोलनकारीले बाहिर ल्याएर चङ्गा झैं उडाएको दृष्यहरु छताछुल्ल भएका छन्।पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीका घरमा भने पुस्तकहरु जलेको देखिए पनि रकम नै डढेको भने भेटिएको छैन ।

कांग्रेस सभापति देउवा निवास वा माओवादी अध्यक्ष दाहालका निवासमा लुकाइएको भनिएको धनकोे स्रोत र आधिकारिकता के हो भन्ने बारेमा न भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणकाे बारेमा अनुसन्धान गर्ने निकायले अनुसन्धान शुरु गरेका छन् नत कुनै आधिकारिक धारणा नै सार्वजनिक भएका छन् । अचम्म त के छ भने आरोपित शीर्ष नेताहरुले समेत यी दृश्यको आधिकारिकता र हल्लाकाे बारेमा केही बोलेका छैनन् ।

कांग्रेस सभापति देउवामाथि आन्दोलनकारीहरुले भौतिक आक्रमण गरेर घरमा आगो मात्रै लगाएनन् । देउवा दम्पत्तिमाथि गम्भिर अनुसनधान गर्नुपर्ने तथ्य पनि देखाएका छन् । आन्दोलनकारीहरुले देउवा निवासको कोठा कोठामा गएर उनीहरुले राखेको पैसा तथा महँगा गहनाहरुको खोजी गरेको दृश्यहरु देखिन्छ । कति सम्म भने आगोले जलेको घरमा स्थानीयहरुको पैसा खोज्न भीडनै लागेको देखिन्छ भने बिटाका-बिटा जलेका पैसाहरु देखिएका छन्।

त्यसो भए देउवाको घरमा कति पैसा थियो जुन जलेर नष्ट भयो ? जेनजी आन्दोलनले गरेको मुख्य माग मध्यको अवैध सम्पति तथा भ्रष्टाचारको अनुसन्धानलाई देउवा निवासका दृश्यहरुले बल पुर्याएको छ । यदि सरकारले तत्काल भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने हो भने देउवा निवासमा भेटिएका पैसा तथा सम्पत्तिहरु पहिलो प्रमाण हुने भएकाे छ । कांग्रेसकै नेता तथा निवर्तमान उर्जामन्त्री खड्काको घरबाट पनि पैसा उडाएका छन् ।

खडकामाथि पनि भ्रष्टाचारको आशंका यस अघिनै नभएको होइन । उहाँको घरबाट उडाइएका पैसाको स्रोत खोज्ने हो भने अवैध सम्पत्तिको अनुसन्धानका लागि तिनै दृष्यहरु प्रमाण बन्ने छन्। कति पैसा नेताहरुको घरमा डढेर खरानी भयो एकिन छैन । करोडौंका दृश्यहरु सार्वजनिक भएका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालको घरमा पनि लाखौं रकम भेटिएको दृश्यहरु सार्वजनिक भइरहेका छन । दाहालको घरमा भेटिएका पैसाको स्रोत पनि खोजी गर्न सक्नुपर्छ ।

नेताहरुको घरमा देखिएका पैसाका बिटाहरुले धेरै ठूलो आशंका र अनुसन्धानको बाटो खोल्न सक्ने प्रष्ट छ । त्यसका लागि सरकारले भने अनुसार तत्काल अनुसन्धान अगाडी बढाउन नसके जेनजी आन्दोलनको उपलब्धी गुम्न सक्छ । साेही पैसाहरु कुन-कुन भ्रष्टाचार काण्डका थिए ? वचतकर्ताको अरबाैं रुपैंया डुबेको सहकारीको रकम पनि त्यहीं त पुगेन ? नागरिकले पटक-पटक प्रश्न उठाइरहेका सुशासन र भ्रष्टाचारको बाटो कसरी अगाडी बढाउने सरकारका लागि अहिलेको चुनौती हो ।

त्यसो त प्रहरीका सबै कार्यालयहरु समेत जलाइएका कारण ति घरहरुमा भेटिएका प्रमाण सुरक्षित हुन्छन कि हुँदैनन भन्ने प्रश्न कायमै रहेकाे छ । आफ्नै कार्यालय जलेर निराश भएको प्रहरीबाटै ती घरहरुमा भेटिएका प्रमाण सुरक्षित गर्नु पर्ने भएकाे छ । त्यहींबाट अनुसन्धान गर्न सके जेनजी आन्दोलनले चाहेको मुख्य उदेश्य पूरा हुन सक्छ ।