
काठमाडाैं । नेकपा एमालेका नेताहरुले जेनजी आन्दोलनको क्रममा तोड्फोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् ।
पार्टीका निवर्तमान सांसदहरुले मंगलबार देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण विष्टले बताउनुभएकाे हाे । उहाँले अधिकांश सार्वजनिक संरचनाहरु पूर्णरुपमा ध्वस्त हुनु अत्यन्तै दुःखद् भएको बताउनुभयो । सिंहदरबारको भवनसहित महत्वपूर्ण ऐतिहासिक दस्तावेज समेत ध्वस्त भएको हुनसक्ने उहाँको अनुमान छ ।
सार्ववजनिक संरचनामा आगजनी र तोड्फोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका उहाँले गर्नुभयो । घटनाको सत्यतथ्य छानविन गरी तोड्फोड र आगजनीमा संलग्नहरुलाई आवश्यक कारबाही गर्न समेत उहाँले माग गर्नुभयो ।
उहाँले भन्नुभयो,-‘प्रतिनिधि सभाका निवर्तमान प्रतिनिधिहरु र नेताहरुले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त ठाउँहरुको अवलोकन गर्यौं । अधिकांश ठाउँमा संरचनाहरु ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरु समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौं । त्यसबाहेक, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन र देशका महत्वपूर्ण सार्वजनिक संरचना, निजी सम्पती र व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । यो अवस्था निकै दुःखदायी छ । यो भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने त्यो जेनजी पुस्ताको चाहाना थिएन होला । यसमा को को शक्तिहरु घुसे र के कारणले यस्ता घटनाहरु घटे ? भन्ने विषयमा छानविन गरेर दोषिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । युवा पुस्ताको मागका आधारमा हामी परिमार्जित भएर जाने कुरामा पनि हामीले गम्भिरताका साथ ध्यान दिनुपर्छ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरुप्रति पनि म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु ।’
सचिव विष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहना अनुसार राजनीतिक दलहरु परिमार्जन हुने कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्