Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


चाडपर्व लक्षित सुपथ मूल्यका पसल आजदेखि सञ्चालनमा


416
Shares

काठमाडौं । सरकारले सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशैभरीका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । साेही पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ ।

यहि भदौ ८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार खाद्यले देशको ४५ जिल्लाका १ सय ११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेशनले ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भएको थियो । जेनजी पुस्ताको आन्दोलनका कारण प्रभावित क्षेत्रमा भने क्रमिक रूपमा पसल सञ्चालन गरिने जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार साेमबारदेखि पसल सञ्चालनमा आएका छन् । प्रभावित केही स्थानमा साेमबारदेखि सञ्चालन नभए पनि क्रमिक रूपमा सञ्चालन गर्दै लगिने भएकाे छ ।

केही स्थानमा साेमबारै पूर्वाधारको कमी वा उपकरणको अभावका कारण सञ्चालन गर्न कठिनाइ हुने प्रमुख कार्यकारी अधिकृत आचार्यले बताउनुभयाे । तर एक हप्ताभित्र सबै ठाउँमा पूर्ण सञ्चालनमा आउने उहाँकाे भनाइ छ ।