
बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ४ । कैलालीको जोशीपुर गाउँपालिका–१, जोशीपुरबजारका व्यापारी रामप्रसाद ओझा (जैशी)को हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार भनिएका जोशीपुर गाउँपालिका–१ का ४१ वर्षीय गंगाराम चौधरी, सोही ठाउँकै ३८ वर्षीय राजकुमार डंगौरा चौधरी र टीकापुर नगरपालिका वडा नम्बर–३ घर भइ गोदावरी नगरपालिका–८ मा पसल गरी बस्ने ३५ वर्षीय डम्मर चौधरी रहेका छन् ।
उनीहरुमाथि थप छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउनका लागि प्रहरीले कैलाली जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराएको छ ।
३२ वर्षीय ओझाको गत भदौ २८ गते राति आफ्नै घरमा हत्या भएको अवस्थामा शव भेटिएको थियो । तीजको नाचगान हेरेर घरमा सुत्न आएका उनी २९ गते बिहान मृत फेलापरेका प्रहरीले जनाएको छ ।
आर्थिक कारणले व्यापारी ओझाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए । उनले पूर्वयोजनाअनुसार नै ओझाको हत्या गरिएको पनि बताए ।
प्रहरी नायब उपरीक्षक ओलीकाअनुसार प्लास्टिकको कभर लागेको तारले घाँटी कसेर ओझाको हत्या गरिएको थियो ।
व्यापारी ओझा र उनीहरुबीच यसअघि पैसाको लेनदेन भएको खुलेको भन्दै उनले हत्याको कारण पनि आर्थिक नै रहेको देखिएको बताए ।
प्रहरीले गंगारामलाई उनकै घरबाट, डम्मरलाई गोदावरी–८ बाट र राजकुमारलाई भारत जाँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाको वडा नम्बर–२ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका डम्मरको साथबाट प्रहरीले सात हजार ११० भारुसमेत बरामद गरेको छ ।
यसैगरी, अभियुक्तहरुको साथबाट मृतक ओझाले प्रयोग गर्दै आएको मोबाइल र १०० रुपैयाँको २२ थान एनसेलको रिचार्जकार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्