कृति रिजाल
काठमाडाैं । नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की इतिहासको कालखण्डमा गर्भिलो नाम बन्नुभएको छ ।
इमानदारिता तथा कर्मप्रतिको निष्ठाका कारण लामो न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्याधीश बन्नुभएकी कार्की संकटको घडीमा नेपालको प्रधानमन्त्री बन्नुभएको हाे । राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य जुरेको कार्कीसँग जोडिएका केही किस्साहरु यस्ता छन् ।
१. पहिलो महिला प्रधानन्यायाधीश
कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्नुभएको थियो । उहाँ २०७३ साल असार २७ देखि २०७४ साल जेठ २४ गतेसम्म नेपालको प्रधानन्यायाधीश हुनुभएकाे थियाे । नेपालको न्यायिक इतिहासमा गर्भिलो काम गर्नुभएकी कार्कीलाई इतिहासले साहसी र निडर न्याय मूर्तिको रुपमा सम्झने गर्छ।
२. पहिलो महिला प्रधानमन्त्री
नेपालको इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री बन्नुभएको छ । लामो राजनीतिक इतिहासमा हालसम्म कोही पनि महिला प्रधानमन्त्री बन्न सकेका थिएनन्। पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी भएता पनि कार्यकारी पद प्रधानमन्त्रीमा भने पहिलो महिला प्रधानन्याधीश कार्की नै बन्नुभयो ।
३. महाअभियोग प्रस्ताव दर्ता
कार्की विरुद्ध प्रधानन्यायाधीश हुँदा तत्कालीन सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग दर्ता गरेका थिए । अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता राम्रो नभएको आरोप लगाउँदै कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । जुन प्रस्तावका कारण उहाँले तत्काल प्रधानन्याधीशबाट निलम्बन हुनु परे पनि सर्वोच्च नै उक्त महाअभियोगको औचित्य नभएको ठहर गरेको थियो ।
४. प्रगतिशील न्यायमूर्ति
प्रधानन्यायाधीश हुदाँ कार्कीले सरोगेसी अर्थात कोख भाडामा दिने प्रथा रोक्ने निर्णय गर्नुभएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तत्कालिन प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति उल्ट्याउने, जयबहादुर चन्दलाई नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर र माओवादी जनयुद्धको मैना सुनारको बलात्कारपछि हत्या भएको मुद्दा संलग्न सैनिक अधिकृतलाई जन्मकैदको फैसला लगायत थुप्रै फैसला कार्कीले गर्नुभएको थियो ।
५. साहित्यप्रेमी
कानूनी पेशासँगै कार्की लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका दुई पुस्तकहरु न्याय र कारा प्रकाशित भइसकेका छन् । जसमा न्याय, राजनीतिक र नेपाली महिलाहरुको अनुभव समेटिएका छन् ।




प्रतिक्रिया दिनुहोस्