
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गर्नुभएकाे छ ।
उहाँले नयाँ राजनीतिक दल ‘नेपाल नागरिक उन्मुक्ति पार्टी ’ गठन गरेर अघि बढ्ने घोषणा गर्नुभएकाे छ । नयाँ दलको चुनाव चिह्न ‘पहिचान’ प्रस्ताव गर्दै नाउपाबाट अलग भएको चौधरीले स्पष्ट पार्नुभएकाे छ ।
भिडियाे सन्देशमार्फत चौधरीले वर्तमान राजनीतिको अवस्था प्रतिशोधपूर्ण र इर्ष्यायुक्त भएको भन्दै टिकापुर घटनामा आफू निर्दोष रहे पनि राजनीतिक प्रतिशोधस्वरूप घर जलाइएको गुनासो गर्नुभयाे । उहाँले टिकापुरमा भएको क्षतिपूर्तिमा व्यापक अनियमितता भएको दाबी गर्दै, ५० हजार क्षतिको दाबी गर्नेले डेढ करोडसम्म पाएको बताउँनुभयाे ।
चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, राज्य पुनःसंरचना तथा सीमाङ्कन परिमार्जन गर्न र आफ्ना मुद्दामा न्यायिक निर्णय आउनुपर्ने माग गर्नुभएकाे छ। साथै, उनले देशमा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयाे।
प्रतिक्रिया दिनुहोस्