Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


अप्राकृतिक सत्ता गठबन्धनको अहंकारका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भए: माओवादी केन्द्र


0
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले अप्राकृतिक सत्ता गठबन्धन सरकारमा रहेको अहंकार, नालायकी, कुशासनका कारण सरकारी तथा निजी भौतिक संरचना र दस्तावेज नष्ट भएको आरोप लगाएको छ ।

पार्टीका उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले शुक्रवार संयुक्त रुपमा जारी गरेकाे विज्ञप्तिमा यस्तो आरोप लगाएका हुन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाहरुको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकांक्षा, इमान्दार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको जारी विज्ञप्तिमा भनिएकाे हाे ।

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको र जेनजीको हिलेको आन्दोलनको भावनालाई पनि यीनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिने उल्लेख छ। आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरूले तोड्फोड, आगजनी र विध्वंस गरेर बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलव्धिहरूलाई उल्ट्याउने कुचेष्टा गरिएको आरोप लगाइएको छ ।

संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटीहरूको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताइएको छ । संघीय संसदबाट तत्काल आवश्यक कानून निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक, उपयुक्त विधि हुने र आन्दोलनकारी युवाका प्रतिनिधिलाई समेत समेटेर संविधानबमोजिम नयाँ सरकारको निर्माण गर्नु नै अहिलेको उत्तम विकल्प भएको जिकिर गरिएको हाे ।

नयाँ सरकारको पहिलो प्राथमिक काम स्वच्छ-निष्पक्ष निर्वाचन गराउनु हुने र ध्वस्त संरचनाको पुनर्निर्माण तथा सुशासनलाई ध्यान दिँदै नागरिकमा आशा जगाउने काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । संविधानले निर्दिष्ट गरेका मौलिक हकका विषयलाई कानून बनाएर इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्दा आन्दोलनकारी जेन्जी युवाले उठाएका मागमा सहमति गरेर संवैधानिक व्यवस्था, विधि, प्रक्रिया र पद्धतिको हिसावले अगाडि लैजानु श्रेयस्कर हुने पनि जारी विज्ञप्तिमा भनिएकाे हाे ।