Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन प्रधानसेनापति सिग्देलकाे आह्वान

शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व

1.079k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गर्नुभएकाे छ ।

उहाँले मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरिहितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकाे बताउनुभएकाे हाे । त्यसका कारण आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन समेत उहाँले जेनजी युवालाई अनुरोध गर्नुभएकाे छ ।

उहाँले हालै देशैभरी भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयाे। उहाँले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति समेत प्रकट गर्नुभएकाे छ । प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताउनुभयाे ।

नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहने समेत उहाँले जानकारी गराउनुभयाे । आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग र सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा समेत उहाँले जोड दिनुभयाे ।

प्रधानसेनापति सिग्देलले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न समेत आग्रह गर्नुभएकाे छ ।