Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


जेन जी आन्दोलन: इतिहासकै ठूलो मानव हत्या


1.768k
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको इतिहासमै सवैभन्दा ठूलो मानव हत्या गरेको छ ।

देशमा ब्याप्त कुशासन विरुद्ध स्वस्फूर्त प्रदर्शन उत्रिएका जेन जी युवाहरुको प्रदर्शनमा बर्बर दमन गरेर ओली सरकारले एकै दिन कम्तिमा डेढ दर्जन बढी युवाको ज्यान लिएको छ ।

कुनै पनि राजनीतिक आन्दोलनमा एकै दिन यति धेरै नागरिक मारिएको इतिहासमा पहिलो पटक हो । घटनामा ४ सय बढी घाइते भएका छन् । मृतक र घाइतेहरुको अझै पहिचान खुलिसकेको छैन । आज विहान ९ बजेदेखि राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरु प्रदर्शन गर्दै नयाँ बानेश्वरतिर अघि बढ्दै जाँदा प्रहरी आफैैंले निषेधित क्षेत्रको ब्यारिकेड खोलिदिएको थियो ।

नयाँ बानेश्वर चोकमा प्रदर्शनकारीहरु ठूलो संख्यामा जम्मा भएपछि केही प्रदर्शनकारीहरु संसद भवनमा प्रवेश गर्न खोजेपछि प्रहरी बर्बर दमनमा उत्रिएको हो । प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न आवश्यक उपायहरु अवलम्बन नगरी अन्धाधुन्द गोली हान्न थालेको थियो । प्रदर्शनकारीहरु एकपछि अर्को गर्दै ढल्न थालेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो । प्रहरीको गोली लागेर तीन जना पत्रकार समेत घाइते भएका छन् ।

केही प्रदर्शनकारीहरुको संसद भवनको प्रवेशद्वारमै ढलेका थिए । घाइतेहरु मध्ये अधिकांशलाई प्रदर्शनस्थल नजिकै रहेको सिभिल अस्पताल लगिएको थियो । सिभिल अस्पतालमा उपचारका क्रममा ३ जनाको ज्यान गएको थियो भने ट्रमा सेन्टरमा ८ जनाको ज्यान गयो । त्यसैगरी एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २ र त्रिवी शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

घाइतेहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तर घाइतेमध्ये ५० जना बढीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतहरुले बताएका छन् । घाइतेहरुको अवस्था देख्दा चिकित्सक र नर्सहरु समेत आत्तिने अवस्था रहेको चिकित्सकहरुले बताएका छन् । घाइतेहरुको उपचारका लागि चिकित्सक र रगतको समेत अभाव भएको छ ।