Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


तेस्रोलिंगी भन्छन्–‘जीविकोपार्जनका लागि ‘ग्राहक’ खोज्छौं’ (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/दीपक श्रेष्ठ/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असोज ४ । तेस्रोलिंगी र समलिंगीप्रति समाजको हेराइ सकारात्मक छैन । यही समाजमा बस्ने उनीहरु जीवन निर्वाहका लागि अनेक विकल्प खोज्न विवश छन् ।

दिन ढल्केपछि काठमाडौंका केही व्यस्त सडक र बजारमा देखिने उनीहरु रहरभन्दा बाध्यतामा यौन व्यवसाय अंगाल्न बाध्य छन् ।

नेपाली समाजबाट अपहेलित तेस्रोलिंगीहरु आफ्नो जीविकोपार्जनका लागि हरेक रात व्यस्त सडकमा ‘ग्राहक’ खोज्ने गर्दछन् । जुन उनीहरुको रहर नभइ बाध्यता र नियति हो ।

नेपालमा ९ लाखको हाराहारीमा तेस्रोलिंगी र समलिंगी रहेको तथ्यांक छ । तीमध्ये ३० प्रतिशत तेस्रोलिंगी ‘सेक्स वर्कर्स’कारुपमा कार्यरत् छन् । तीमध्ये १५ प्रतिशतले तेस्रोलिंगीको नागरिकतासमेत लिएका छन् ।

तर, समाजबाट अपहेलित बनेर जीवन जीउनुपर्ने बाध्यताका लागि यस्तो काम गर्नुपरेको उनीहरुको भनाइ छ ।

घरका सदस्यलाई जानकारी दिएरै पेसा अंगालेको बताउने उनीहरु यसैको माध्यमबाट परिवारसमेतको रेखदेख गरिरहेको बताउँछन् ।

केहीले भने भने घरपरिवारलाई थाहा नदिएको र बाध्यता एवं रहर दुवै कारणले यो पेसा अंगालेको प्रतिक्रिया दिन्छन् ।

पर्यटक बढी आवत–जावत गर्ने ठमेल क्षेत्रमा रात्रिकालीन समयमा देखिने उनीहरु अहिले भने रत्नपार्क, लाजिम्पाट, चाबहिल र गौशालाजस्ता क्षेत्रमा बस्ने गरेका छन् ।

प्रहरीको आँखा छलेर ग्राहकको खोजी गर्ने उनीहरु जस्तोसुकै ग्राहकसँग पनि जाने गरेको स्वीकार्छन् ।

केहीले भने आफूहरुको रेखदेखका लागि खोलिएको सम्बन्धित निकायहरुले बेवास्ता गर्दा सडकमा आउनुपरेको र थुप्रै समस्या झेल्नुपरेको बताए ।

रातबिरात यसरी सडकमा रहँदा दुनियाँबाट अपहेलित हुनुपर्ने बाध्यता रहेकाले सरकारले कुनै निश्चित ठाउँ तोकिदिए आफूहरुलाई केही सहज हुने उनीहरुको भनाइ छ ।

तेस्रोलिंगीहरु सडक किनारमा उभिँदा रमिते बन्नेको कमी पनि कम छैन । उनीहरु यस्ता क्रियाकलापले समाजमा नराम्रो असर पारिरहेको बताउँछन् ।

भिडियो हेर्नुहोस्